केही दिनअघि आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। सवारी चाप बढेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ।

जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ। बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले तौल सीमासमेत कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ। धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन बाटोमा सम्भव भएसम्म एकै समयमा आमनेसामने नहुने गरी समय व्यवस्थापन गरिएको छ। ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई धुलिखेल–भकुण्डेबेँसी सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

यस्तै, दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्म सुधारका काम तत्काल अघि बढाइने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधनको आवागमन सहज बनाउन तथा सडक अवरुद्ध हुन नदिन डोजरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। कार्यालयले जोखिमयुक्त स्थानमा सडकको अवस्था सुधार तथा सवारी आवागमन सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया