रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा ल्याउने क्रम जारी छ। क्षतविक्षत अवस्थामा ल्याइएका शवको पोस्टमार्टम गर्न प्रतिशव करिब ३० मिनेट लाग्ने गरेको प्रहरीले जनाएको छ।

अस्पतालमा खटिएका नेपाल प्रहरीका एसपी प्रदीप सिंहका अनुसार बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म शवको पोस्टमार्टम भइरहेको छ। उनका अनुसार बिहीबार बिहानदेखि मात्रै २५ वटा शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ। पोस्टमार्टमसँगै मृतकको पहिचानका लागि डीएनए नमुनासमेत संकलन भइरहेको छ। प्रहरीले हड्डी र दाँतबाट डीएनए नमुना लिने गरेको जनाएको छ। पोस्टमार्टमपछि शवमा ब्याच नम्बर राखेर व्यवस्थापनका लागि गोकर्णेश्वर पठाउने गरिएको छ।गोकर्णेश्वरमा ठूलो खाल्डो बनाएर प्याक गरिएका शव व्यवस्थापन गर्ने गरिएको प्रहरीले जनाएको छ। एउटा खाल्डोमा करिब ९ देखि १० वटासम्म शव राख्ने गरिएको छ।प्रहरीका अनुसार शवको फोटो वा बाह्य स्वरूपबाट पहिचान भए पनि डीएनए परीक्षण नगरी आफन्तलाई शव जिम्मा लगाइने छैन। डीएनए परीक्षणबाट मृतक र आफन्तको नमुना मिलेपछि मात्रै ब्याच नम्बरका आधारमा सम्बन्धित परिवारलाई शव बुझाइनेछ।

पोस्टमार्टम तथा शव व्यवस्थापनका लागि ८–९ जनाको समूह बनाएर प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। शवगृहमा खटिएका प्रहरीका अनुसार हालसम्म ल्याइएका शवमध्ये पुरुषको संख्या बढी छ भने धेरै शव क्षतविक्षत अवस्थामा रहेकाले प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ।

तपाईको प्रतिक्रिया