देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आगामी २४ घण्टामा अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर मौसम बदलीसँगै वर्षाको गतिविधि बढेको हो।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकीका पहाडी तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया