भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। क्षति पुगेका ११ आयोजनाबाट हालसम्म ९३३ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढी आएको ११ दिन बितिसक्दा पनि प्रतिकूल मौसम, सडक सञ्जाल विच्छेद तथा ठूला उपकरण घटनास्थलसम्म पुर्याउन नसक्दा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ५४८ जना अझै हराइरहेका छन्। हराइरहेकामा ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिकसमेत छन्। शनिबार नेपाली सेनासहितको टोलीले डिसेन्डर बेसिनबाट पानी र हिलो हटाउँदै एक चिनियाँ नागरिकको सकुशल उद्धार गरेको थियो भने डाउनसाइडमा दुई शव फेला पारेको छ। आयोजनाबाट हालसम्म ८७८ जनाको उद्धार भइसकेको छ। त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, १२० मेगावाटको रसुवा–भोटेकोशीबाट ४ जना, २० मेगावाटको लाङटाङ खोलाबाट ३९ जना र २२ मेगावाटको चिलिमेबाट ६ जना सम्पर्कविहीन छन्। चिलिमे विद्युत्गृह पुग्ने २५० मिटर लामो सुरुङमध्ये नेपाली र भारतीय सेनाको टोलीले हालसम्म करिब १०० मिटर मात्र म्यानुअल रूपमा सफा गर्न सकेको छ। यस्तै, ५ मेगावाटको मैलुङ खोला आयोजनाबाट ७ जना हराइरहेका छन्।बाढीबाट नेपाल विद्युत् प्राधिकरणका आयोजनासमेत प्रभावित भएका छन्। २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रबाट ३ जना, १४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रबाट १ जना र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए बाट ३९ जना सम्पर्कविहीन छन्। निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनाबाट १९१ जना हराइरहेका छन्। सो क्षेत्रमा ४ मिटर गहिराइसम्म उत्खनन गर्दा पनि भवनको भग्नावशेष फेला पार्न सकिएको छैन।
यसैगरी, १५.६ मेगावाटको मिडल गङ्गाबाट २ जना, २५ मेगावाटको नुवाकोट सौर्य त्रिशूली विद्युत् आयोजनाबाट २३ जना र अन्य १ जनासमेत सम्पर्कविहीन रहेका छन्। सुरक्षा निकाय, विशेषज्ञ टोली र स्थानीय तहको संयुक्त प्रयासमा हेलिकप्टर तथा उपलब्ध उपकरणको प्रयोग गरी हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

Online Arthik










