नेपाल विद्युत् प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका २५ वर्षीय सन्देश मगरलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। दुर्घटनापछि सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराएका मगरको उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो। प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचार खर्चसहित कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउन स्वीकृति दिइएको हो।
मगरले यसअघि १० लाख रुपैयाँ पेश्की लिइसकेकाले बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

Online Arthik








