शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय तथा जीविकोपार्जनमा ठूलो असर परेको भन्दै कम्पनीले विपद्को कठिन समयमा प्रभावित समुदायसँग एकताबद्ध भएर उभिनु सबैको जिम्मेवारी भएको जनाएको छ।
कम्पनीले विपद्को यस घडीमा सबै पक्ष मिलेर राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा अघि बढ्न आग्रह गरेको छ।

Online Arthik








