इरान र अमेरिकाबीचको सैन्य तनाव थप बढेको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले हर्मुज जलघाँटीमा अमेरिकी जहाज तथा तेल ट्याङ्करलाई निशाना बनाउनुका साथै जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डातर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। घटनाक्रमसँगै मध्यपूर्वको सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिमाथि चिन्ता बढेको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले हर्मुजबाट पार गर्न खोजेका अमेरिकी जहाजसहित विभिन्न तेल ट्याङ्करलाई लक्षित गरेको दाबी गरेको छ। साथै कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्याङ्करलाई समेत चेतावनी दिइएको छ। जोर्डनले इरानबाट प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको जनाएको छ। उता, अमेरिकी सेनाले इरानी तेलवाहक जहाजबाट अमेरिकी युद्धपोतमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि पाँच इरानी तेलवाहक जहाज नष्ट गरेको जनाएको छ।
बढ्दो तनावको प्रत्यक्ष प्रभाव तेल बजारमा समेत देखिएको छ। बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९९.४६ डलर र वेस्ट टेक्सास इन्टरमिडियट ९४.४५ डलर पुगेको थियो। हर्मुज जलघाँटीमा अवरोध उत्पन्न भए विश्व बजारमा तेल आपूर्ति प्रभावित हुनसक्ने भएकाले आगामी दिनमा ऊर्जा बजार थप अस्थिर बन्ने जोखिम देखिएको छ।

Online Arthik








