प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकम १२ अर्ब ४३ करोड ३३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहानसम्म नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमलाई समायोजन गर्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ उपलब्ध भएको हो।

कोषका विभिन्न नौवटा बैंक खातामा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ रहेको छ भने दुईवटा अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ डलर जम्मा भएको छ। बाढीपछि राहत तथा उद्धारका लागि सहयोग बढिरहेकाले कोषको रकम निरन्तर वृद्धि भइरहेको छ। भदौ २५ गते मात्रै १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ नेपाली मुद्रा थपिएको थियो। सोही दिन २ लाख ७४ हजार ६२ अमेरिकी डलरसमेत संकलन भएको कार्यालयले जनाएको छ।

यसअघि सरकारले भोटेकोशी बाढी प्रभावितका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत निकासा गरिसकेको छ। ठूलो क्षति भएका क्षेत्रमा राहत, खोज तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउन कोषको रकम पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया