रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउन्डेसन), बंगलादेशले संयुक्त रूपमा राहत वितरण गरेका छन्। संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत सामग्री वितरण गरेका हुन्।
राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो। अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीय समन्वय एएचजेड एसोसिएट्स नेपालले गरेको थियो।
डीएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन एकेएम गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले मानवताको कुनै सीमा नहुने भन्दै नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्न पाएकोमा गौरव महसुस गरेको बताए।
अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर शोबिन थापाले गरेका थिए। राहत टोलीले सामग्री वितरणसँगै प्रभावित परिवारको पहिचान, प्रत्यक्ष भेटघाट र स्थानीयस्तरमा आवश्यक समन्वय गरेको थियो। थापाले विपद्का बेला राहत सामग्री दिनुका साथै प्रभावितको कुरा सुन्ने र उनीहरू एक्ला छैनन् भन्ने अनुभूति गराउनु पनि अभियानको उद्देश्य रहेको बताए।

Online Arthik









