नेपाली क्रिकेटको बहुप्रतीक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताले आगामी मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटप्रेमीलाई रोमाञ्चक प्रतिस्पर्धाको स्वाद चखाउनेछ।

प्रतियोगिताको उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। उपाधि दाबेदार मानिएका यी दुई टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगिताको सुरुवातलाई नै थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेल साँझ ५ बजे सुरु हुनेछ। यस संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा सहभागिता जनाउँदैछन्। विभिन्न टोलीबीचको प्रतिस्पर्धाले नेपाली क्रिकेटमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। तेस्रो संस्करणको एनपीएलको अर्को विशेषता पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग हो। यस प्रणालीले अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने व्यवस्था उपलब्ध गराउनेछ, जसले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपाली क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा एनपीएलको यो संस्करण खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने र समर्थकका लागि मनपर्ने टोलीलाई समर्थन गर्दै क्रिकेटको उत्सव मनाउने अवसरका रूपमा रहनेछ। उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिमबीचको प्रतिस्पर्धासँगै यस वर्षको उपाधि यात्राले औपचारिक सुरुवात गर्नेछ।

तपाईको प्रतिक्रिया