दसैँको लामो बिदापछि आजदेखि सेयर बजार पुनः सञ्चालनमा आउँदैछ। बिदाअघि लगातार सात कारोबार दिन सामान्य सुधार देखिएको बजारले त्यसलाई निरन्तरता दिन्छ वा घट्ने दिशामा जान्छ भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ। दसैँअघि अन्तिम कारोबार दिन असोज ३० गते नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा पुगेको थियो। उक्त दिन ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। लामो बिदापछि बजार खुल्दा लगानीकर्ताको मनोविज्ञान, खरिद माग र बिक्रीका लागि उपलब्ध सेयरको परिमाणले बजारको दिशा निर्धारण गर्ने देखिन्छ। बिदाअघि देखिएको सामान्य सुधारले निरन्तरता पाउँछ वा बजारमा नयाँ दबाब सिर्जना हुन्छ भन्ने कुरा आजको कारोबारले संकेत गर्नेछ।

Online Arthik










