महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर सहित १७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष अमृत चरण श्रेष्ठको अध्यक्षतामा केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर शनिबार सम्पन्न भएको सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर र प्राप्ती समितिको गठन गरी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
यस्तै रेमिट्यान्स सम्बन्धी कारोबार गर्न प्रबन्धपत्रमा सो व्यवस्था उल्लेख नभएकोले नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी, सभाले सभामा संस्थाको हालको अधिकृत पूँजी २० करोडबाट वृद्धि गरी ४० करोड पु्र्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । यस्तै अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरिक्षण नियुक्ति र पारिश्रमिक निर्धारण लगायथका प्रस्तावहरु पनि छलफल गरी पारित गरेको छ।
साधारण सभाबाट पारित संस्थाको १ करोड २१ लाख रुपैयाँ बोनसपछि चुक्ता पूँजी १३ करोड ३१ लाख पुगेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले २०७६ चैत्र ४ गते एक दिनका लागि संस्थाको शेयर दाखिल खारेज बन्द गरेको थियो । यसअनुसार चैत्र ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।
राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरू मार्फत ३५ हजार भन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरूलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिँदै आएको छ ।

Online Arthik










