नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिद गर्न पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो। आइतबार प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो। यस प्रक्रियामा सन् २०२६ मार्च १२ मा ‘द राइजिङ नेपाल’मा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता प्राप्त कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन्। इच्छुक कम्पनीले डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखाबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। कागजातका लागि २० हजार रुपैयाँ, १३२ अमेरिकी डलर वा ११८ युरो शुल्क तोकिएको छ। बोलपत्रसम्बन्धी पूर्वबैठक डिसेम्बर ११ मा मध्याह्न १२ बजे हुनेछ भने बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ को मध्याह्न १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन कायम गरिएको छ भने त्यसका लागि कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ। उक्त सुरक्षणको मान्य अवधि सन् २०२७ मे २८ सम्म हुनुपर्नेछ। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका कम्पनी तथा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनीमार्फत समेत बोलपत्रमा सहभागी हुन नपाउने राष्ट्र बैंकले जनाएको छ। बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकमा सुरक्षित रहने सूचनामा उल्लेख छ।


Online Arthik










