साउदी अरबको सुरक्षा अवस्था तनावपूर्ण बनेपछि नेपालसहित विभिन्न देशका एयरलाइन्सले त्यहाँका गन्तव्यमा हुने उडान स्थगित तथा रद्द गरेका छन्। यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेपछि हवाई सेवा प्रभावित भएको हो। नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम–काठमाडौं रुटका नोभेम्बर २८ र २९ (मंसिर १२ र १३) का उडान रद्द गरेको छ। अर्को उडान मिति भने सार्वजनिक गरिएको छैन। प्रभावित यात्रुले टिकटको मिति निःशुल्क परिवर्तन गर्न वा पूर्ण रकम फिर्ता लिन सक्ने निगमले जनाएको छ। त्यस्तै, भारतको अकासा एयरले रियाद र जेद्दाहका उडान क्रमशः जनवरी ३१ र जनवरी १०, २०२७ सम्म स्थगित गरेको छ। एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले नोभेम्बर ३० सम्म रियाद तथा दमामका उडान रोकेका छन् भने इन्डिगोले जेद्दाह, मदिना, रियाद र दमामका उडान स्थगित गरेको छ। यसअघि अक्टोबरमा रियाद विमानस्थललाई लक्षित गरी भएको आक्रमणपछि पनि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान रद्द गरेका थिए। पछिल्ला आक्रमणमा एक नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ। साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले उडान अवरोधले नेपाल–साउदी आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।


Online Arthik










