पूर्वाधार विकास मन्त्री सुनील लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्न चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएका छन्। शनिबार नारायणी नदीमा निर्माणाधीन सिग्नेचर पुलको अनुगमन गर्दै मन्त्री लम्सालले काममा लापरबाही गर्ने ठेकेदारलाई निर्माण कार्यले गति नलिएसम्म थुनामा राख्नुपर्ने बताएका हुन्। उनले निर्माण कम्पनीको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै समयमै काम अघि नबढाए ठेक्का सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएका छन्। मन्त्री लम्सालले सम्बन्धित निर्माण कम्पनीले देशभर जिम्मा लिएका अन्य आयोजनाको प्रगति विवरण तत्काल तयार पार्न पनि निर्देशन दिएका छन्। नारायणी नदीमाथि निर्माण हुने उक्त सिग्नेचर पुलको ठेक्का तुन्दी कन्स्ट्रक्सन प्रालिले भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँमा पाएको हो। डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण हुने पुलको सम्झौता २०८० जेठ १९ गते भएको थियो। चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको म्याद सकिन अब करिब ६ महिना मात्रै बाँकी छ। तर, हालसम्म पुलको भौतिक प्रगति ३ प्रतिशतमा सीमित रहेको छ। भोटेकोसी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माण कार्य प्रभावित भएको जनाइएको छ। कुल ४२० मिटर लामो र साढे सात मिटर फराकिलो हुने पुलमा दुई लेनको सवारी मार्ग तथा साढे तीन मिटरको फुटपाथ रहनेछ। चारवटा पिल्लर रहने पुलका मुख्य दुई पिल्लरबीचको दूरी २१० मिटर हुनेछ। पुलको तल्लो भागबाट साना पानीजहाजसमेत आवतजावत गर्न सक्ने गरी डिजाइन तयार पारिएको छ।

तपाईको प्रतिक्रिया