नबिल बैंक लिमिटेडले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि दक्षिण एसियालीस्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको छ। दक्षिण एसियाली निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बंगलादेशमा शनिबार आयोजित समारोहमा बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले अवार्ड ग्रहण गरेका थिए। साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका आधारमा नबिल बैंकलाई सम्मान गरेको हो। बैंकले यसअघि आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका लागि पनि उक्त अवार्ड प्राप्त गरेको थियो। यसैगरी, बैंकले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदनको गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यो सम्मान नबिल बैंकसँगै नेपालको बैंकिङ क्षेत्रका लागि पनि गौरवको विषय भएको बताएका छन्। चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ मार्फत आधुनिक तथा सहज बैंकिङ सेवाको विस्तारमा जोड दिँदै आएको बैंकले जनाएको छ।


Online Arthik










