अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य ८५.३३ अमेरिकी डलर अर्थात् २.३९ प्रतिशतले बढेर प्रतिऔँस ३ हजार ६५३.९७ डलर पुगेको थियो। कारोबारको सुरुवाती समयमा मूल्य ३ प्रतिशतसम्म बढेको थियो। यसअघि १५ महिनायताकै न्यून विन्दुमा झरेपछि सस्तो मूल्यमा सुन खरिद गर्ने लगानीकर्ताको सक्रियताले बजारमा सुधार आएको हो।
यद्यपि, अमेरिकी डलर २२ महिनायताकै उच्च स्तरनजिक रहनु, सरकारी ऋणपत्रको प्रतिफल बढ्नु र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर थप बढाउन सक्ने संकेतले सुनको मूल्यमा दबाब सिर्जना गरेको छ। अमेरिकी मुद्रास्फीति अपेक्षाभन्दा बढी देखिएपछि आगामी महिनाहरूमा ब्याजदर वृद्धि हुन सक्ने अनुमानसमेत बलियो बनेको छ। ब्याजदर बढ्दा प्रतिफल नदिने सुनप्रतिको आकर्षण घट्ने भए पनि एसियाली बजारमा भौतिक सुनको माग भने बढेको छ। भारतमा गरगहना तथा लगानीका लागि सुन खरिद बढेको छ भने चीनमा खुद्रा माग बलियो हुँदा स्थानीय बजारमा सुनको प्रिमियम उच्च स्तरमा कायम रहेको छ।


Online Arthik









