नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसँग क्षेत्रीय ऊर्जा केन्द्र बन्ने ठूलो अवसर रहेको तर त्यसका लागि सही नीति र सक्षम नेतृत्व अपरिहार्य हुने बताएका छन् । हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित ‘नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक नीतिगत छलफलमा सहभागिता जनाउँदै करिब एक दशकअघि नेपालले दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोग्नुपरेको भए पनि संस्थागत सुधार, दक्ष ऊर्जा व्यवस्थापन र सेवाप्रतिको प्रतिबद्धताले त्यसलाई अन्त्य गर्न सफल भएको स्मरण गरे । उनले नेपालमा विद्युत पहुँच ५६ प्रतिशतबाट झण्डै १०० प्रतिशतमा पुगेको, प्राधिकरण घाटाबाट नाफामा परिणत भएको र भारत तथा बङ्गलादेशमा बिजुली निर्यात हुने अवस्थामा पुगेको बताए । फर्पिङ र सुन्दरीजल जलविद्युत आयोजनाबाट सुरु भएको नेपालको जलविद्युत यात्राले अहिले ३,८०० मेगावाटभन्दा बढी क्षमता प्राप्त गरिसकेको र २०३५ सम्ममा २८,५०० मेगावाट पुर्याई त्यसमा १५,००० मेगावाट निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको र बङ्गलादेशमा निर्यात सुरु भएकोले नेपाललाई क्षेत्रीय ऊर्जा मार्गमा उभ्याएको बताए । भुटान र चीनसँग पनि आगामी दिनमा सहकार्यको सम्भावना रहेको उनले उल्लेख गर्दै स्वच्छ जलविद्युतले सौर्य–निर्भर ग्रिडलाई सन्तुलन दिन, कार्बन उत्सर्जन घटाउन र विकासलाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले हरित हाइड्रोजनलाई भविष्यका लागि ऊर्जा स्रोतका रूपमा उपयोग गर्ने सम्भावनाबारे पनि चर्चा गरे भने जलवायु परिवर्तनको चुनौतीसँग लड्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जोड दिए । कार्यकाल सकिन चार महिना बाँकी रहँदा आफूलाई अनपेक्षित रूपमा पदबाट हटाइएको प्रसङ्गलाई राजनीतिक अस्थिरता र जवाफदेहिताको कमीको परिणाम भन्दै उनले युवाहरू परिवर्तन चाहेको र परिणाममुखी नेतृत्व खोजिरहेको बताए । उज्यालो नेपाल अभियानमार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको उनले उल्लेख गरे । कार्यक्रममा युसीएल इन्स्टिच्युट अफ एजुकेशनका प्राध्यापक डा. तेजेन्द्र फेरालीले घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएकोमा प्रशंसा गरे भने विश्व चेसका ग्र्याण्ड मास्टर रेमण्ड कीनले उनलाई सम्मानपत्र तथा टोनी बुजन मेडल प्रदान गरे । सो अवसरमा ब्रिटिश संसदको हाउस अफ लर्ड्सका सदस्य लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ता हकले मन्तव्य राखेका थिए भने पानस हेल्पिङ ह्यान्डका सुजन कटुवालले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया