धनुषाको धनौजी गाउँपालिका–३ (साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्म) का २३३ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि आफ्नो जग्गाको औपचारिक स्वामित्व प्राप्त गरेका हुन्। उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भए पनि विभिन्न कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै सम्बन्धित निकायले हाल २३३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। लालपुर्जा प्राप्त भएसँगै स्थानीयको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै जग्गासम्बन्धी विवाद समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन र जग्गालाई आर्थिक प्रयोजनमा उपयोग गर्नसमेत सहज हुने विश्वास गरिएको छ।

Online Arthik










