माछापुच्छ्रे बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले असोज १० गते पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहान ११ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सेयरधनीहरुलाई चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, प्रतिसेयर रु. १०० को दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने र बैंकको अधिकृत पूँजी १५ अर्बबाट वृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पनि सभामा पेश गरिनेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायको निर्देशन अनुसार आवश्यक संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र २०८१/८२ को एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने, साथै सर्वसाधारण सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा भएको नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डा सभामा रहनेछन् । साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

तपाईको प्रतिक्रिया