नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र बीमाशुल्क दुवैमा सकारात्मक वृद्धि भएको जानकारी दिएको छ। कम्पनीले यस अवधिसम्म २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको २० करोड ५४ लाख रुपैयाँभन्दा ४.९४ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.१८ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यसै गरी कुल आम्दानी १८ अर्ब ३६ करोड रुपैयाँमा पुगेको छ, भने कुल खर्च पनि बढ्दै १७ अर्ब २८ करोड रुपैयाँमा पुगेको छ। कम्पनीले १५ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ३.६७ प्रतिशतले बढी हो। नेपाल लाइफको महाविपत्ति कोष १ अर्ब ३४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब ३९ करोड रुपैयाँमा पुगेको छ। यस अवधिसम्म कम्पनीले ९२ हजार ९३ नयाँ बीमा पोलिसी जारी गरेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २,९०३.३१ रुपैयाँ तथा पीई अनुपात ७७.९९ गुणा कायम भएको छ।

तपाईको प्रतिक्रिया