नेपाल टेलिकम (एनटीसी) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीको नाफा तथा आम्दानी दुवै पक्षमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कमी आएको देखिन्छ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको नाफाभन्दा २३.८२ प्रतिशत कम हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको थियो।
उही अवधीमा कम्पनीको कुल आम्दानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा १० अर्ब ६ करोड रुपैयाँ आम्दानी भए पनि यसपालि आम्दानी ५.८९ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
वित्तीय विवरणअनुसार कम्पनीको कुल रिजर्भ ७३ अर्ब ३ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.८५ प्रतिशतले कम हो। कम्पनीको कुल चालु सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।
नाफा तथा आम्दानीमा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि ३८.६६ रुपैयाँबाट घटेर २९.४५ रुपैयाँमा झरेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ५०५.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०२.०४ रुपैयाँ, तरलता अनुपात २.३३ प्रतिशत तथा पीई अनुपात २८.७२ गुणा रहेको छ।
नेपाल टेलिकमले पछिल्लो समयमा आय–व्यय व्यवस्थापन, सेवाको गुणस्तर र बजार प्रतिस्पर्धाको बीचमा आफ्नो सेवा विस्तार तथा प्रविधि विकासलाई निरन्तरता दिइरहेको जनाएको छ।

Online Arthik










