हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय क्षेत्रको जीवनमा पर्ने प्रभावबारे जागरूकता फैलाउने, पर्वतीय विकासका अवसर–चुनौतीमा छलफल गर्ने र विश्वभरका पर्वतीय समुदाय तथा वातावरणका पक्षमा सहकार्य निर्माण गर्ने उद्देश्यले आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २००३ देखि प्रत्येक वर्ष डिसेम्बर ११ का दिन मनाइने यस दिवसका अवसरमा रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)को मुख्यालयसहित विभिन्न देशहरूमा पर्वतीय जीवन, हिमनदी र पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनी तथा विविध कार्यक्रमहरू आयोजना भएका छन्। राष्ट्रसङ्घका अनुसार विश्वका करिब दुई अर्ब मानिस पर्वतीय क्षेत्रबाट प्राप्त हुने पानी स्रोतमा निर्भर छन्, तर पछिल्ला वर्षहरूमा हिमनदी तीव्र गतिमा पग्लन थालेपछि ती पानी स्रोतहरू गम्भीर जोखिममा परिरहेका छन्। विश्व तापक्रम निरन्तर बढ्दै गएसँगै अझ धेरै हिमनदी हराउने खतरा रहेको चेतावनी समेत दिइएको छ। त्यस्तै, विश्वका एक करोड ५० लाखभन्दा बढी मानिस हिमताल फुट्ने सम्भावित जोखिमका कारण अत्यन्त संवेदनशील अवस्थामा छन्। यस दिवसले यस्ता जोखिमबारे चेतना फैलाउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास र सुरक्षित भविष्यका लागि विश्वव्यापी सहकार्यमा जोड दिन्छ।

तपाईको प्रतिक्रिया