माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा साधारण सभा आयोजना गरिएको हो ।

सभाले लाभांश वितरणसहितका विविध प्रस्तावहरू पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । साधारण सभाबाट पारित भएसँगै उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सभाले अध्यक्ष पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णय समेत सभाले गरेको छ । प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

हाल कम्पनीले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला र ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया