कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नाफासँगै बैंकको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी १४ करोड ५३ लाख रुपैयाँबाट बढेर १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद सञ्चालन आम्दानी १३.६१ प्रतिशतले वृद्धि भई १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यद्यपि, बैंकको रिटेन्ड अर्निङ भने ४३.६६ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकले रिजर्भको आकार भने १ अर्ब ८३ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिसम्म बैंकले ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । इम्प्येरमेन्ट चार्जका रूपमा बैंकले १८ करोड ७१ लाख रुपैयाँ छुट्टाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १९ करोड ६४ लाख रुपैयाँभन्दा कम हो ।
बैंकको खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म ४.३५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.१० प्रतिशतमा सीमित बनेको छ । यद्यपि, वितरणयोग्य मुनाफा भने ३७ करोड ५५ लाख रुपैयाँबाट घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ, जुन २१.२५ प्रतिशतले कम हो ।
वित्तीय सूचकांकतर्फ बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,८६५.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.१७ गुणा तथा तरलता अनुपात २३.८६ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

Online Arthik










