स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६ औं वार्षिकोत्सवका अवसरमा सरोकारवालाले ऊर्जा आयातमा परनिर्भरता घटाउँदै स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यी अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा निर्भरता घटाउनुपर्ने बताए । ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उनले पर्याप्त र सस्तो ऊर्जा बिना विकास सम्भव नहुने धारणा राखे । उनका अनुसार ऊर्जा उपलब्धताले उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुनेछ ।
उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न सहयोग पुर्याउने बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमसमेत भएको उनको भनाइ थियो । साथै, नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बंगलादेशलगायत छिमेकी मुलुकहरूमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत् निर्यात गर्ने अवस्थामा पुर्याएको बताए । हाल नेपालको कुल विद्युत् उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै उनले यसलाई गर्वको विषय भएको बताए । मन्त्री सिन्हाका अनुसार ५–१० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा आज १०० मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ । उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जानकारी पनि दिए ।
मन्त्री सिन्हाले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भइसकेको र बंगलादेशतर्फ पनि निर्यात प्रक्रिया अगाडि बढेको बताए । यद्यपि, कानुनी तथा नीतिगत सुधार, पीपीए, प्रसारण लाइन विस्तार, वन तथा जग्गा प्राप्तिका जटिलताजस्ता चुनौती अझै कायम रहेको स्वीकार गर्दै ‘टेक एन्ड पे’ र ‘टेक अर पे’ नीतिमा स्पष्टता आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यबहाक अध्यक्ष नेपाल चेम्बर अफ कमर्सका दिपक मल्होत्राले बढ्दो जलविद्युत् उत्पादनको उचित उपयोगका लागि स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिए । उनले जलविद्युत् क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्र राज पाण्डेले जलविद्युत् आयोजना विकासमा सर्भे लाइसेन्सदेखि पीपीए र निर्माणसम्म १०–१२ वर्ष लाग्ने अवस्थालाई जटिल कानुनी तथा प्रक्रियागत समस्याको परिणाम बताए । एक आयोजनाका लागि १६ वटा मन्त्रालय धाउनुपर्ने अवस्थाले लगानीकर्तालाई निरुत्साहित गरेको भन्दै उनले ‘सिंगल विन्डो सिस्टम’ तत्काल लागू गर्न माग गरे ।
इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत् विकासमा निजी क्षेत्रको योगदान अत्यन्तै सराहनीय रहेको बताए । हाल देशभर ९०० भन्दा बढी जलविद्युत् आयोजनाले लाइसेन्स लिएर काम अघि बढाइसकेको जानकारी दिँदै उनले ११ हजार ६ सय मेगावाट क्षमताका आयोजनाहरू विभिन्न चरणमा रहेको र करिब १६ हजार मेगावाट बराबरको पीपीए भइसकेको बताए । उनका अनुसार हालसम्म जलविद्युत् क्षेत्रमा १३ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ ।
कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष महन कुमार डागीले नेपालको समृद्धिका मुख्य आधार ऊर्जा, पर्यटन र कृषि भएको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा ८२ हजार मेगावाटभन्दा बढी तथा सोलार ऊर्जामा ४० हजार मेगावाटभन्दा बढी सम्भावना रहेको बताए ।

Online Arthik










