सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा खुद नाफामा सामान्य वृद्धि हासिल गरेको छ। पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २२ करोड २२ लाख रुपैयाँको तुलनामा १.११ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा आर्जन गरिएको २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँको तुलनामा ४.१२ प्रतिशतले घटेको हो। यद्यपि, खुद बीमाशुल्क भने सुधार देखिएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब १८ करोड ६२ लाख रुपैयाँको तुलनामा ३.६४ प्रतिशतले वृद्धि भएको हो।कम्पनीको महाविपत्ति कोषमा पनि वृद्धि देखिएको छ। समीक्षा अवधिमा महाविपत्ति कोष २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो कोष २० करोड ४६ लाख रुपैयाँ रहेको थियो।
रिटेन्ड अर्निङतर्फ हेर्दा कम्पनीको रिटेन्ड अर्निङ ८४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रिटेन्ड अर्निङ ५४ करोड ८५ लाख रुपैयाँ थियो भने त्यसअघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। कम्पनीको अन्य इक्विटी २९ करोड २० लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड ४९ लाख रुपैयाँको तुलनामा केही घटेको हो।५ अर्ब ३ करोड १२ लाख रुपैयाँ सेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.३० रुपैयाँ रहेको छ। यसैगरी, कम्पनीको पी/ई रेसियो ४१.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ कायम रहेको छ।
कम्पनीले आगामी अवधिमा व्यवसाय विस्तार, जोखिम व्यवस्थापन तथा दीगो नाफा वृद्धिमा केन्द्रित रहने जनाएको छ।

Online Arthik










