लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले विगत वर्षहरूमा गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यसपटक २ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

उक्त रकम बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापालाई चेकमार्फत हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखा प्रवन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउनु खुशीको विषय भएको बताए। साथै उनले साहारा क्लबले गर्दै आएको मानवीय, उदाहरणीय र प्रशंसनीय कार्यको उच्च प्रशंसा गरे। बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा तथा खानामा खर्च गरिने जानकारी दिए।

हाल साहारा फुटबल एकेडेमीमा देशका १५ जिल्लाबाट आएका ३० जना कठिन तथा विपन्न अवस्थाका बालकहरू आश्रित छन्। साहारा क्लब पोखराले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दै उनीहरूको लालन–पालन, शिक्षा तथा फुटबल प्रशिक्षणको व्यवस्था गर्दै आएको छ।

देशका सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका हाल ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालनमा छन्। “निरन्तर सहयात्रा” भन्ने नारासहित बैंकले आधुनिक, सुरक्षित तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बचत खातामा उच्च ब्याजदरको विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया