सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिले आगामी फागुनमा हुने निर्वाचनमा ड्रोन प्रयोग रोक्ने निर्णय गरिसकेको जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइनेछ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी पनि ती टोलीले गरिरहेको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले कडा निगरानी गरिरहेको प्रवक्ता काफ्लेले बताए। साथै निर्वाचन प्रहरीको बिमा, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको जानकारी दिए।
गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी नगर्न निर्देशन दिइसकेको जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार हुन अनुरोध गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री नराख्न चेतावनी दिएको छ। त्यस्ता गतिविधि गरेमा कानुनी कारबाही हुने पनि स्पष्ट गरिएको छ।

Online Arthik










