गरिमा क्यापिटल लिमिटेड ले फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई बराबर १ अर्ब रुपैयाँको योजना ल्याउन लागेको हो। पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुला गरिनेछ, जसमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड लाई, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो खुलामुखी (ओपन-एन्डेड) म्युचुअल फण्ड योजना भएकाले बाँकी इकाई सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। उक्त योजनामा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि चैत १२ गतेसम्म लम्बिनेछ।
उक्त म्युचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik









