नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बीमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न पाउने वातावरण निर्माण गर्न माग गर्नुभएको छ। उहाँले यो धारणा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी को नवनिर्मित भवन उद्घाटन कार्यक्रममा व्यक्त गर्दै नीतिगत सुधारमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने आधार तयार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार नेपालका नियामक निकायहरू—नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड—परम्परागत नीतिका आधारमा सञ्चालन भइरहेका कारण बैंक तथा वित्तीय क्षेत्रले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न सकेको छैन। वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यावसायिक गतिविधि विस्तारमा अवरोध आएको उल्लेख गर्दै उहाँले नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो। व्यवसायिक संस्थालाई नाफामुखी वा गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने अभ्यास गलत भएको उहाँको तर्क थियो। आर्थिक गतिविधि विस्तारले रोजगारी सिर्जना, राजस्व वृद्धि तथा समग्र अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने भएकाले त्यसअनुसार कानून तथा नीतिमा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Online Arthik









