झापाको मेचीनगर नगरपालिका–१५ ज्यामीरगढीमा खेर गइरहेका स्थानीय स्रोत र साधनको उपयोग गर्दै नवीकरणीय ऊर्जा ‘पेलेट’ उत्पादन सुरु गरिएको छ। वातावरणमैत्री इन्धनको रूपमा चिनिने ‘पेलेट ऊर्जा’लाई पत्थर कोइला, दाउरा तथा अन्य खनिज इन्धनको प्रभावकारी विकल्पका रूपमा लिइँदै आएको छ।

पराजुली बायोमास व्रिकेट उद्योगद्वारा उत्पादन सुरु गरिएको यस ऊर्जाको १२ घण्टामा ७० हजार किलोग्रामसम्म उत्पादन गर्ने क्षमता रहेको छ। उद्योगका सञ्चालक आदित्य पराजुलीका अनुसार यहाँ उत्पादित पेलेट झापासहित देशका विभिन्न जिल्लामा आपूर्ति गरिनेछ भने छिमेकी मुलुक भारतमा समेत निर्यात गर्ने योजना रहेको छ।उद्योगले खेर जाने कमल भेनियर सिट, उखुको खोस्टा, सुकेका पातपतिङ्गर, बाँसका चोइटा तथा काठका टुक्राजस्ता सामग्रीलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी दानेदार ऊर्जा उत्पादन गर्दै आएको छ। चिया, सिमेन्ट, इँटा तथा फलाम उद्योगहरूमा सस्तो र वातावरणमैत्री इन्धनको रूपमा यसको प्रयोग बढ्दै गएको छ।भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पेलेट ऊर्जाले पत्थर कोइलाको आयात प्रतिस्थापन गर्दै देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यस पहलले स्थानीय स्रोतको प्रभावकारी उपयोग, वातावरण संरक्षण, औद्योगिक विकास र ऊर्जा आत्मनिर्भरता जस्ता बहुआयामिक लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया