स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ १ गतेका लागि विशेष साधारण सभा आह्वान गरेको छ। वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभा बनेपास्थित पञ्चकन्या ब्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। सभामा विशेष प्रस्तावअन्तर्गत विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विषयमा डीडीए मुल्यांकनकर्ताको नियुक्ति, पारिश्रमिक तथा सम्बन्धित खर्चहरूको अनुमोदन, शेयर आदान–प्रदान दर पारित, प्रारम्भिक समझदारी तथा अन्तिम सम्झौता सम्बन्धी निर्णयहरूको अनुमोदन गरिनेछ। साथै प्राप्ति पश्चात बन्ने संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन, केन्द्रीय कार्यालय स्थानान्तरण लगायतका आवश्यक निर्णयहरू पारित गर्ने प्रस्ताव रहेको छ। यसका साथै जारी तथा चुक्ता पूँजी वृद्धि अनुरूप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने तथा नियामक निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन गर्न सञ्चालक समिति वा तोकिएको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

तपाईको प्रतिक्रिया