नेपाल उद्योग वाणिज्य महासंघको बैशाख २२ गते सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित टिमले विजयी प्रमाणपत्र प्राप्त गरेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्। एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे १,०७९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ ले ७५० मत प्राप्त गरिन्। एसोसिएट सदस्यतर्फ सचिन ढकालले सर्वाधिक १,३१८ मत ल्याउँदै शीर्ष स्थान हासिल गरे, साथै हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठलगायत १७ जना सदस्य निर्वाचित भएका छन्।
वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ ६३ मतसहित विजयी भए, जसले शिवप्रसाद घिमिरेलाई झिनो अन्तरले पराजित गरे। वस्तुगततर्फ १३ सदस्य निर्वाचित भएका छन् भने बाँकी ३ सदस्यको टुंगो गोलाप्रथाबाट लाग्नेछ। जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए।
यस निर्वाचनमा विभिन्न समूहबीच प्रतिस्पर्धा भए पनि अधिकांश पदमा अञ्जन श्रेष्ठ समूहका उम्मेदवारहरूले जित हासिल गरेका छन्। नयाँ नेतृत्व चयनसँगै महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आगामी आर्थिक नीति तथा व्यवसायिक वातावरण सुधारमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Online Arthik










