सानिमा क्यापिटल लिमिटेड ले व्यवस्थापन गर्ने तथा सानिमा बैंक लिमिटेड प्रवर्द्धक रहेको “सानिमा इक्विटी फण्ड–२” को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको १० करोड इकाईको सार्वजनिक निष्कासन गत वैशाख २४ गतेदेखि खुला गरिएको थियो ।

यस योजनामा वैशाख २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको भए पनि निर्धारित अवधिमा मागबमोजिम आवेदन नपरेकाले समयावधि जेठ ७ गतेसम्मका लागि थप गरिएको थियो । योजना व्यवस्थापक सानिमा क्यापिटलका अनुसार थप गरिएको अवधिमा मागअनुसार आवेदन प्राप्त भएकाले निर्धारित समयअघि नै इकाई बिक्री बन्द गरिन लागेको हो ।

कुल निष्कासनमध्ये १ करोड ३० लाख इकाई सानिमा बैंक र २० लाख इकाई सानिमा क्यापिटलका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट धितोपत्र दरखास्त संकलनका लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था (आस्वा सदस्य) का सम्पूर्ण कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । यो १० वर्षे बन्दमुखी योजना हो भने योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले नै सम्हालेको छ ।

तपाईको प्रतिक्रिया