प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले स्वतन्त्र सांसद महावीर पुनलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ।

बालुवाटार स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ। वैज्ञानिक तथा अनुसन्धानकर्ताका रूपमा परिचित पुनलाई उनको विज्ञताअनुसारको मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री शाहले गरेका हुन्।यद्यपि पुनको नियुक्ति र शपथग्रहणको मितिबारे सरकारले औपचारिक घोषणा भने गरिसकेको छैन। वर्तमान प्रतिनिधिसभामा स्वतन्त्र सांसदका रूपमा रहेका पुन यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यक्तित्व हुन्।

यसैबीच, सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय भइसकेको छ र उनको शपथग्रहण आजै हुने तयारी गरिएको छ। यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोह आयोजना गर्ने तयारी रहेको बताइएको छ।यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो। छानबिन प्रक्रिया सम्पन्न भएपछि उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया