नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। नेपाल राष्ट्र बैंक का अनुसार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखतसहित जारी गरिएको नयाँ सिरिजका नोटहरू वित्तीय प्रणालीमा प्रवेश गरेका हुन्। आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा महत्वपूर्ण सुधार गरिएको छ।
नयाँ नोटमा झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मको संकेत नम्बर प्रयोग गरिएको छ, जसअनुसार करिब ३० लाख थान नोट बजारमा आउनेछन्। नोटमा सगरमाथा, राष्ट्रिय फूल लालीगुराँस, कुबेरको चित्र तथा पाटे बाघजस्ता राष्ट्रिय प्रतीक समावेश गरिएका छन्। साथै रंग परिवर्तन हुने सुरक्षा धागो, आधुनिक सुरक्षण प्रणाली र दृष्टिविहीनमैत्री स्पर्श संकेत पनि राखिएको छ, जसले नोटको सुरक्षा र पहुँच दुवैलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Online Arthik










