लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार केही करेक्सन देखिएको छ। घरेलु बजारमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेपछि लगानीकर्ता तथा उपभोक्ताले केही राहत महसुस गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको सामान्य नरमाहटको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। भू–राजनीतिक तनाव र सुरक्षित लगानीको आकर्षणका कारण पछिल्ला दिनमा सुनको मूल्य उच्च विन्दुतर्फ उक्लिएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यद्यपि सुनको मूल्य अझै ऐतिहासिक रूपमा उच्च तहकै आसपास रहेकाले आगामी दिनको बजार दिशा अन्तर्राष्ट्रिय आर्थिक अवस्था, डलरको मजबुती तथा विश्वव्यापी राजनीतिक घटनाक्रममा निर्भर रहने देखिएको छ।

तपाईको प्रतिक्रिया