म्याग्दीको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ। आयोजनाको मुख्य सुरुङमा आजदेखि पानी भर्न सुरु गरिएको छ, जसलाई विद्युत् उत्पादनअघि गरिने महत्वपूर्ण परीक्षण प्रक्रियाका रूपमा हेरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको दग्नाम र झिँ गाउँको सिमानास्थित बाँधबाट पिप्लेसम्म फैलिएको ६.२७ किलोमिटर लामो मुख्य सुरुङमा पानी भर्न थालिएको हो। कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार पहिलो दिन करिब १,६०० मिटर सुरुङमा पानी भरिएको छ।उनले चार दिनभित्र सम्पूर्ण सुरुङमा पानी भरिसक्ने र त्यसपछि करिब १५ दिनसम्म परीक्षण गरी आयोजना सञ्चालनयोग्य बनाइने जानकारी दिए। सात वर्षभन्दा लामो प्रयासपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।यसअघि बाँध, पानी थिग्र्याउने पोखरी (डिसेन्डर) तथा स्वीचयार्डको सफल परीक्षण सम्पन्न भइसकेको छ। सुरुङ परीक्षणमा कुनै समस्या नदेखिए विद्युत्गृहमा जडान गरिएका २०–२० मेगावाट क्षमताका दुई युनिटमध्ये एकबाट परीक्षण उत्पादन सुरु गरिने तयारी गरिएको छ।रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण भएका बाँध र दुईवटा डिसेन्डरको परीक्षण पूरा भइसकेको छ। तिल्केनीचौरस्थित विद्युत्गृह निर्माण कार्य सम्पन्न भई रङरोगन भइरहेको छ। एउटा २० मेगावाट क्षमताको युनिट जडान भइसकेको छ भने अर्को युनिटको जडान अन्तिम चरणमा पुगेको छ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गरिएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ। साथै, दाना–कुश्मा २२० केभी डबल सर्किट प्रसारण लाइनमा विद्युत् जोड्न आवश्यक चारवटा टावर र प्रसारण संरचना पनि तयार भइसकेका छन्।राहुघाट आयोजनाको सिभिल निर्माणको जिम्मा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले लिएको थियो। कम्पनीसँग २०७४ मङ्सिरमा करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। विभिन्न कारणले निर्माणमा ढिलाइ भएपछि आयोजनाको म्याद पटक–पटक थपिएको थियो।कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्य प्रभावित भएको ठेकेदार कम्पनीले जनाएको छ। यसअघि आर्थिक समस्याका कारण पुरानो ठेकेदार आइभिआरसिएलसँगको सम्झौता रद्द गरी नयाँ प्रक्रियामार्फत आयोजना अघि बढाइएको थियो।भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको यो आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ४० मेगावाट स्वच्छ ऊर्जा थपिनेछ।

तपाईको प्रतिक्रिया