यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले जारी गरेको स्वास्थ्य प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ।
विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा जारी परिपत्रमार्फत यस्तो आग्रह गरिएको हो। विभागका अनुसार हालको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताका कारण सिन्डिकेटजस्ता समस्या भोग्नुपरेको छ। सेवा प्रवाहलाई थप सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिनुपर्ने निष्कर्ष निकालिएको हो।परिपत्रमा मन्त्रीस्तरीय २०८३ जेठ १३ गतेको निर्णयअनुसार सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन पत्राचार गरिएको उल्लेख छ। यस व्यवस्थाले स्वास्थ्य परीक्षण प्रक्रियामा एकरूपता र पारदर्शिता कायम हुने तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने अपेक्षा गरिएको विभागले जनाएको छ।
यसैबीच, यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलसँग मान्यता प्राप्त चिकित्सकहरूको विवरण पनि माग गरेको छ। विभागले साउन १ गते काउन्सिललाई पत्राचार गर्दै दर्ताप्राप्त चिकित्सकहरूको अद्यावधिक सूची उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।

Online Arthik










