नेपाल पुनर्बीमा कम्पनी लिमिटेड आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा उच्च दाबी भुक्तानी, बीमाशुल्क आर्जनमा आएको कमी तथा लगानी प्रतिफल घटेका कारण प्रभावित भएको हो। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घटेर ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।कम्पनीको कुल आम्दानी पनि २२.०५ प्रतिशतले घट्दै ६ अर्ब ६८ करोड १६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कुल आम्दानी ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँ रहेको थियो। आम्दानी घटेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ४३.४१ रुपैयाँ ऋणात्मक बनेको छ, जबकि गत वर्ष यही अवधिमा ईपीएस ५.४५ रुपैयाँ धनात्मक थियो।खुद दाबी भुक्तानी भने झन्डै दोब्बर वृद्धि भएको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब १७ करोड रुपैयाँ रहेको दाबी भुक्तानी बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल खर्च पनि ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ यथावत रहेको छ। यद्यपि, कुल सम्पत्ति ३९ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी हो।तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड रुपैयाँले ऋणात्मक रहेको छ भने महाविपत्ति कोष ४२ करोड ७६ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १०९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति २९४.५५ रुपैयाँ र सोल्भेन्सी अनुपात ३.६५ रहेको कम्पनीले जनाएको छ। यो अनुपात नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १.५ भन्दा माथि रहेको छ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट र अर्थतन्त्रमा देखिएको सुस्तताले लगानी प्रतिफलमा असर परेको उल्लेख गर्दै आगामी दिनमा लगानी विविधीकरण र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्ने रणनीति अवलम्बन गर्ने जनाएको छ।

Online Arthik










