नेपाल लेयर्स कुखुरापालक संघले देशका विभिन्न स्थानमा देखिएको बर्ड फ्लु नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै पशु सेवा विभागप्रति आभार व्यक्त गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा नेपालको पोल्ट्री व्यवसाय कृषि क्षेत्रको आत्मनिर्भर व्यवसायका रूपमा स्थापित भएको उल्लेख गर्दै यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब ३ प्रतिशत योगदान पुर्‍याएको तथा प्रत्यक्ष रूपमा करिब पाँच लाख जनालाई रोजगारी प्रदान गरेको जनाएको छ। साथै, पोल्ट्री क्षेत्रले उपभोक्तालाई गुणस्तरीय अण्डा र कुखुराको मासु उपलब्ध गराएर पोषण सुरक्षामा महत्वपूर्ण योगदान दिँदै राज्यको अर्थतन्त्रमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको संघको भनाइ छ। हाल पोल्ट्री क्षेत्रमा करिब १६० अर्ब रुपैयाँ लगानी रहेको उल्लेख गर्दै संघले विभिन्न चुनौतीका बीच पनि व्यवसाय निरन्तर अघि बढिरहेको जनाएको छ।संघले हालै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा देखिएको बर्ड फ्लु नियन्त्रणका लागि पशु सेवा विभागका महानिर्देशक, उपमहानिर्देशक, चिकित्सक, कर्मचारी तथा जिल्लास्थित प्राविधिक टोलीहरूले अहोरात्र खटिएर गरेको कार्यको उच्च प्रशंसा गरेको छ। बर्ड फ्लुको प्रकोप नियन्त्रण, जनचेतना अभिवृद्धि, सही सूचना प्रवाह तथा प्रभावकारी व्यवस्थापनमार्फत पोल्ट्री क्षेत्रमा थप क्षति हुन नदिन विभागले महत्वपूर्ण भूमिका खेलेको संघले जनाएको छ।

संघका अध्यक्ष विनोद पोखरेलले पशु सेवा विभागका महानिर्देशकसहित सम्पूर्ण चिकित्सक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि पोल्ट्री क्षेत्रको संरक्षण, विकास र स्थायित्वका लागि निरन्तर रचनात्मक सहयोगको अपेक्षा रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया