नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सरकारी निकाय, महासंघ तथा व्यवसायिक संघ–संस्थाबीच वृहत् छलफल सम्पन्न भएको छ। बास नेपालको आयोजनामा बिहीबार नेपालगन्जमा आयोजित ‘स्थानीय नेतृत्व र नागरिक संलग्नता’ विषयक कार्यक्रममा फोहोर व्यवस्थापनका चुनौती र समाधानका उपायबारे छलफल गरिएको हो।

कार्यक्रममा यातायात व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका समिति, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले नेपालगन्जको फोहोरलाई कसरी दिगो रूपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राखेका थिए। प्रमुख अतिथि तथा पूर्व प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले आफू नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख हुँदा फोहोर व्यवस्थापन र प्लास्टिकमुक्त अभियानलाई योजनाबद्ध रूपमा अघि बढाइएको स्मरण गर्दै विभिन्न कारणले अपेक्षित सफलता हासिल गर्न नसकिएको बताए। उनले हाल द कोकाकोला फाउण्डेसन को सहयोगमा नेपालगन्जमा दिगो फोहोर व्यवस्थापनको अभियान पुनः सुरु भएकोमा खुशी व्यक्त गर्दै त्यसलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।कार्यक्रममा वातावरण विज्ञ हरिप्रसाद सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी प्रस्तुति दिँदै दिगो समाधानका लागि नागरिकको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए। उनले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यवहारिक अभ्यास र सचेतनामा जोड दिँदै सहभागीहरूलाई अन्तरक्रियात्मक गतिविधिमार्फत विषयमा संलग्न गराएका थिए।छलफलका क्रममा यातायात व्यवसायी संघ, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघलगायतका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट फोहोर व्यवस्थापन अभियानमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बासका परियोजना अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा संस्थाका निर्देशक हेमराज भट्टले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। हरित नेपालगन्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना अन्तर्गत आयोजित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए।

तपाईको प्रतिक्रिया