साउन महिनाका बाँकी सोमबारमा भक्तजनको सहज दर्शन व्यवस्थापन गर्ने उद्देश्यले पशुपति क्षेत्रमा व्यापक सरसफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले तीन साताअघि शनिबारदेखि सुरु गरेको विशेष सरसफाइ अभियानअन्तर्गत शनिबार पनि मन्दिर परिसरका विभिन्न स्थानमा सफाइ गरिएको हो।

कोष सञ्चालक परिषद्का सदस्य तथा पशुपतिका भण्डारी केदारमान भण्डारीका अनुसार भक्तजनले लामबद्ध भएर दर्शन गर्ने चारै प्रवेशद्वार, मूल प्रवेशमार्ग, भकुण्डोल, वनकाली, हंसमण्डप, पञ्चदेवल पूर्व क्षेत्र, राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवन तथा कपाली समुदायको समाधिस्थललगायत स्थानमा सरसफाइ गरिएको छ। सरसफाइ अभियानमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ, सञ्चालक परिषद्का सदस्यहरू, कोषका कर्मचारी, स्थानीय संघ–संस्था तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको जनाएको छ।यस वर्ष साउन महिनामा चार वटा सोमबार परेका छन्। पहिलो सोमबार साउन ४ गते सम्पन्न भइसकेको छ भने अब साउन ११, १८ र २५ गते पनि सोमबार पर्नेछन्।

कोषले बाँकी तीनवटा सोमबार पशुपतिनाथ मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा पूजा, आराधना र दर्शन गर्न सकून् भन्ने उद्देश्यले सरसफाइ तथा व्यवस्थापनका तयारीलाई तीव्र बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया