मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार दुवै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ। सम्झौतासँगै दुवै संस्थालाई आपसमा प्राप्ति गर्ने सहमति भएको बैंकले जनाएको छ।

प्राप्ति प्रक्रियाका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढाउँदै मुक्तिनाथ विकास बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएर आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ। नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरिएको कम्पनी सचिव ढकालले जानकारी दिएका छन्।

जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरेपछि मुक्तिनाथ विकास बैंकको व्यवसायिक आकारसँगै शाखा सञ्जालसमेत थप विस्तार हुने अपेक्षा गरिएको छ। यद्यपि, प्राप्ति प्रक्रिया पूरा गर्न सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुका साथै अन्य कानुनी तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया