काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। बिहानैदेखि सर्वसाधारण रित्तो सिलिन्डर बोकेर ग्यास डिलरका सटरअगाडि ग्यासको प्रतीक्षामा बस्न बाध्य भएका छन्। कोही साइकलमा सिलिन्डर बोकेर पुगेका छन् भने कोही ट्याक्सी तथा अन्य सवारीसाधनमा राखेर डिलर धाइरहेका छन्। उपभोक्ताको एउटै प्रश्न छ– ग्यास कहिले आउँछ?
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सडक तथा यातायात संरचनामा ठूलो क्षति पुगेपछि काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति प्रभावित भएको हो। बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं जोड्ने प्रमुख मार्ग अवरुद्ध हुँदा ग्यास ढुवानीमा गम्भीर समस्या आएको ग्यास विक्रेता महासंघ नेपालले जनाएको छ।
महासंघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद दुलालका अनुसार अहिले सामान्य अवस्थाको तुलनामा २ प्रतिशत पनि ग्यास आपूर्ति हुन सकेको छैन। डिलरमा ग्यास अत्यन्त न्यून मात्रामा आउने वा आउँदै नआउने अवस्था रहेकाले अधिकांश ग्यास पसल रित्तिएका छन्। उनका अनुसार वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास प्रभावकारी हुन नसकेकाले कृष्णभीरको सडक यथाशीघ्र सञ्चालनमा आउनु नै आपूर्ति सहज बनाउने मुख्य उपाय हो।
महासंघले ग्यास अभावमा सडक समस्यासँगै उद्योगी र डिलरबीचको समन्वय अभावलाई पनि जिम्मेवार ठहर गरेको छ। उद्योगीहरूले डिलरमार्फत ग्यास वितरण गर्नुको सट्टा आफ्नै काउन्टरबाट प्रत्यक्ष बिक्री गर्न थालेपछि उपभोक्ताले १०–१५ किलोमिटरसम्म यात्रा गरेर ग्यास खोज्नुपर्ने अवस्था आएको महासंघको भनाइ छ। डिलरलाई ग्यास उपलब्ध गराउन नसक्ने भए उद्योगीहरूले स्पष्ट सूचना जारी गरी उद्योगबाटै बिक्रीको व्यवस्था गर्नुपर्ने माग महासंघले गरेको छ।
आर्थिक मन्दीका बीच ग्यासको मूल्य र उपलब्धताको समस्याले सर्वसाधारण थप मारमा परेको महासंघका कार्यवाहक अध्यक्ष दुलालले बताएका छन्। विद्यार्थी, डेरामा बस्ने, बिरामी तथा वृद्धवृद्धा ग्यास अभावबाट बढी प्रभावित भएको उनको भनाइ छ। डिलरहरूले आफ्नो पहुँचमा आएको सीमित ग्याससमेत बिरामी, सुत्केरी तथा काजकिरियामा रहेका परिवारलाई प्राथमिकताका आधारमा वितरण गरिरहेको जनाइएको छ।
महासंघले सरकार र सम्बन्धित ग्यास उद्योगीलाई तत्काल आपूर्ति व्यवस्था सहज बनाउन तथा डिलरहरूसँग प्रभावकारी समन्वय गर्न आग्रह गरेको छ। साथै, कृष्णभीरको सडक छिटो सञ्चालनमा ल्याउन सके उपत्यकामा देखिएको एलपी ग्यासको संकट क्रमशः समाधान हुने अपेक्षा गरिएको छ।

Online Arthik










