जेनजी आन्दोलन सुरु भएको आज मंगलबार भदौ २३ गते एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना हुँदैछन्।

एक वर्षअघि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक अस्थिरता, बेरोजगारी, नातावाद, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो। हातमा प्लेकार्ड र मोबाइलमा लाइभ बोकेर हजारौँ युवा सडकमा उत्रिएका थिए। आन्दोलनले सुशासन, पारदर्शिता, जवाफदेहिता, रोजगारी, समान अवसर तथा राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिताको मागलाई प्रमुख रूपमा उठाएको थियो।आन्दोलनपछि मुलुकको राजनीतिक परिदृश्यमा उल्लेख्य परिवर्तन आएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेपछि त्यसलाई पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा हेरिएको छ।

जेनजी आन्दोलनले उठाएका सुशासन, राजनीतिक सुधार र जवाफदेहिताका सवाल भने एक वर्षपछि पनि राज्य सञ्चालनको महत्वपूर्ण बहसका रूपमा कायमै छन्।

तपाईको प्रतिक्रिया