काठमाडौंको विशालनगरमा पुस्तान्तरण नेपालले आयोजना गरेको निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० भन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। हिमाल डेन्टल अस्पताल र इन्टरप्लास्ट नेपालको सहकार्यमा आयोजित शिविरमा आधारभूत स्वास्थ्य तथा दन्त परीक्षण, मनोसामाजिक परामर्श र आवश्यक स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको थियो।

शिविरमा सहभागी ज्येष्ठ नागरिकमा उच्च रक्तचाप र ब्लड सुगरलगायतका समस्या बढी देखिएको चिकित्सकहरूले बताएका छन्। साथै, ज्येष्ठ नागरिकलाई घरायसी दुर्घटनाबाट हुने जलनबाट बच्ने उपाय तथा जलन भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीबारे समेत सचेतना दिइएको थियो।

मनोसामाजिक परामर्शका क्रममा थप सहयोग आवश्यक देखिएका सहभागीलाई आगामी दिनमा फलोअप परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउने पुस्तान्तरण नेपालले जनाएको छ। संस्थाका अध्यक्ष प्रतिवेदन बैद्यले ज्येष्ठ नागरिकको स्वास्थ्य, मानसिक स्वास्थ्य तथा गरिमामय वृद्धावस्था प्रवर्द्धन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए।

पुस्तान्तरण नेपालले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य क्लिनिक, डे–केयर तथा होम–केयर सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय सरकार तथा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा स्वास्थ्य तथा मनोसामाजिक शिविरसमेत नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया