रिलायन्स लाइफ इन्स्योरेन्सको प्रामिक निष्काशनमा परेको अन्तिम तथ्यांक तयार भएको छ । जस अनुसार रिलायन्स लाइफको शेयर २० हजार ५०९ आवेदकले नपाउने निश्चित भएको छ । यस अघि कम्पनीको शेयरमा ६ लाख ९ हजार वटा आवेदन परेको विद्युतीय तथ्यांक आए पनि ५ लाख ८९ हजार ४६४ वटा मात्र आवेदन परेको अन्तिम तथ्यांक तयार भएको छ । जसमा १ हजार ९५५ वटा आवेदनहरु रद्ध भएका छन् । बाँकी ५ लाख ८७ हजार ५०९ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिनमा क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता साधारण शेयर मध्ये ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । यो शेयर १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार आवेदकले मात्र पाउछन् ।

बाँडफाँड प्रकृयामा सहभागि गराइने आवेदकको संख्याभन्दा शेयर पाउने आवेदकको संख्या २० हजार ५०९ ले थोरै हो । उल्लेखित आवेदकले १० कित्ता शेयर पनि पाउने छैनन् ।

क्यापिटलका अनुसार कुल निष्काशित शेयर मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता सुरक्षित गरिएको छ । त्यसै गरी कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याइएको छ । सामुहिक लगानी कोष र इन्स्योरेन्सका कर्मचारीलाई ५ प्रतिशतका दरले सुरक्षित गरेर बाँकी रहेको शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो । क्यापिटलका अनुसार ५६ लाख ७० हजार कित्ता शेयरमा आवेदन माग गरिएकोमा कुल २ करोड २९ लाख २६ हजार १० कित्ता शेयर माग भएको हो । इन्स्योरेन्सको शेयरमा ४.०४ गूणा बढी आवेदन परेको हो ।

इन्स्योरेन्सका २२४ जना कर्मचारीले ३ लाख १५ हजार कित्ता शेयरका लागि आवेदन गरेका छन् । त्यसै गरी १९ वटा सामुहिक लगानी कोषहरुले इन्स्योरेन्सको ३ लाख १५ हजार कित्ता शेयर पाएका छन् ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।

तपाईको प्रतिक्रिया