श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका नाममा हुने ठगी नियन्त्रण गर्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले पुस ८ गतेदेखि उक्त सेल औपचारिक रूपमा सञ्चालनमा ल्याइने जानकारी दिए।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सुरु गर्न लागिएको यो प्रणालीको उद्देश्य श्रमिकलाई आधिकारिक सूचना प्रदान गरी सुरक्षित र सचेत निर्णय गर्न सहयोग गर्नु रहेको सचिव पुस्करले बताए। उनका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग तथा समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो। यी सबै स्थानबाट कार्यालय समयमा सेवा लिन सकिनेछ।
सचिव पुस्करका अनुसार यो सेल स्थापना गर्नुका मुख्य तीन उद्देश्य छन्— श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यममार्फत फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकून् र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु। पछिल्लो समय टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता ठगीबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने विश्वास व्यक्त गरे।
‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जान चाहने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन्। यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनीको विवरण, आवश्यक योग्यता, उमेर, तालिम र स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित रूपमा वैदेशिक रोजगारमा जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानालगायतका विषय समावेश छन्।
यसैबीच, मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय रूपमा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रूपमा मनाउने भएको छ। सचिव पुस्करका अनुसार पुस १ देखि ७ गतेसम्म ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइनेछ।

Online Arthik









